खाँदबारी नगरपालिकाको अल्पकालिन सेवा केन्द्र सञ्चालन कार्यविधि, २०७८
खाँदबारी नगरपालिकाको अल्पकालिन सेवा केन्द्र सञ्चालन कार्यविधि, २०७८
प्रस्तावना
खाँदबारी नगरपालिकाको कार्यक्षेत्रभित्र तथा सदरमुकाममा बसी आवाशगृहको सेवा लिनुपर्ने गरी संखुवासभा जिल्लाका अन्य स्थानीय तहहरुबाट उद्धार गरी ल्याइएका वा आपतकालिन सहयोग वा न्याय माग्न आएका कुनै पनि प्रकारका घरेलु हिंसा वा लैंगिक हिंसा वा दुर्वव्यवहार प्रभावित वा हिंसा र दुर्वव्यवहारको जोखिममा रहेका महिला, किशोरी र बालबालिकालाई तत्काल स्वास्थ्य सेवा, मनोसामाजिक विमर्श, अल्पकालिन आश्रय, कानूनी उपचार, आवश्यक सुरक्षा व्यवस्था र आवश्यकता अनुसार पारिवारिक पुनर्मिलन तथा पुनःस्थापना सम्मका सेवा पु¥याउनका लागि संखुवासभा जिल्लामा १ वटा अल्पकालिन सेवा केन्द्र स्थापना र सञ्चालन गर्नुपर्ने आवश्यकता महशुस भएकोले त्यस्तो सेवा केन्द्रलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने उद्देश्यले जिल्ला समन्वय समिति संखुवासभाको समन्वय र खाँदबारी नगर कार्यपालिकाको नेतृत्वमा जिल्लाका सबै स्थानीय तहलाई समेट्ने गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ (२) बमोजिम यो अल्पकालिन सेवा केन्द्र सञ्चालन कार्यविधि २०७८ तर्जमा गरिएको छ ।
१) संक्षिप्त नाम र प्रारम्भ
(क) यो कार्यविधिको नाम “अल्पकालिन सेवा केन्द्र सञ्चालन कार्यविधि, २०७८” हुनेछ ।
(ख) यो कार्यविधि खाँदबारी नगरपालिका नगर कार्यपालिकाबाट स्वीकृत भए पश्चात तुरुन्त लागू हुनेछ ।
२) परिभाषा
विषय र प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,
(क) “सेवा केन्द्र” भन्नाले हिंसा प्रभावित महिला, किशोरी वा बालबालिकालाई सुरक्षित र अल्पकालिन तथा दिर्घकालिन आश्रय उपलब्ध गराउन सञ्चालनमा रहेको केन्द्रलाई सम्झनु पर्दछ ।
(ख) “घरेलु हिंसा” भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनु पर्दछ ।
(ग) “लैंगिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लिंगको आधारमा कसैप्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउने कार्य सम्झनु पर्दछ र सो शव्दले लिंगको आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट बञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउछ ।
(घ) “नगर प्रमुख” भन्नाले खाँदबारी नगरपालिका प्रमुखलाई सम्झनु पर्दछ ।
(ङ) “उपप्रमुख” भन्नाले खाँदबारी नगरपालिकाको उपप्रमुखलाई सम्झनु पर्दछ ।
(च) “समन्वय समिति” भन्नाले यस कार्यविधिको दफा १४ बमोजिम गठित समितिलाई सम्झनु पर्दछ ।
(छ) “निर्देशन समिति” भन्नाले यस कार्यविधिको दफा १२ बमोजिम गठित समितिलाई सम्झनु पर्दछ ।
(ज) “साझेदार संस्था” भन्नाले जिल्ला प्रशासन कार्यालयमा दर्ता भई स्थानीय तहसँग सम्झौता गरी सेवा केन्द्र सञ्चालन गर्न अनुमति प्राप्त गैरसरकारी संस्थालाई सम्झनु पर्दछ ।
३. कार्यक्षेत्र
स्थानीय तहको निर्देशन समितिले अन्यथा तोकेकोमा बाहेक,
(क) यस सेवा केन्द्रको कार्यक्षेत्र संखुवासभा जिल्ला भरी हुनेछ ।
४. सेवा केन्द्र स्थापना र सञ्चालन
१) हिंसा पिडितहरुलाई तत्काल सुरक्षा प्रदान गर्न र कानूनी, शारीरिक र मानसिक उपचार तथा पारिवारिक पुनर्मिलनको क्रममा अलग्गै बस्ने व्यवस्थाको लागि यस कार्यविधि बमोजिम,
(क) नगरपालिकाले सेवा केन्द्रको स्थापना र सञ्चालन गर्न सक्नेछ ।
(ख) कुनै संस्थाले तोकिए बमोजिम स्वीकृती लिई दफा ४ (१) को उद्देश्यको लागि सेवा केन्द्र स्थापना र सञ्चालन गर्न सक्नेछ ।
(ग) दफा ४ (क) र (ख) बमोजिम स्थापना भएको सेवा केन्द्रलाई दफा ५ बमोजिमको कोषबाट आर्थिक तथा अन्य सहयोग प्रदान गर्न सकिने छ ।
५. कोषको व्यवस्था
१) दफा ४ (क) र (ख) बमोजिम स्थापना भएको सेवा केन्द्र सञ्चालनका लागि नगरपालिकाले एक सेवा कोष स्थापना गर्ने छ ।
२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिमका रकम रहनेछ ।
(क) संखुवासभा जिल्लाका स्थानीय तहहरुबाट प्राप्त हुने रकम,
(ख) जिल्ला अस्पताल अन्तर्गतको ओसिएमसि मार्फत प्राप्त हुने रकम,
(ग) कुनै स्वदेशी वा विदेशी संघसंस्था वा व्यक्तिबाट प्राप्त हुने रकम,
(घ) कुनै व्यक्ति वा संस्थाको दान दातव्यबाट प्राप्त हुने रकम
(ङ) साझेदारी संघ÷संस्थाबाट प्राप्त रकम ।
६. कार्य जिम्मेवारी
सेवा केन्द्रहरुको कार्य जिम्मेवारी देहाय बमोजिम हुनेछः
(क) निर्धारित प्रक्रियाबाट सम्प्रेषित प्रभावित महिला तथा वालबालिकाका लागि स्वीकृत मापदण्ड मुताविकको ममतामयी वातावरण सहितको बस्नेखाने व्यवस्था ।
(ख) खण्ड (क) बमोजिम संरक्षित महिला तथा वालबालिकाले नीजको अवस्था अनुसार स्थानीयस्तरमा नै प्राप्त गर्नुपर्ने औषधोपचार, मनोसामाजिक विमर्श, कानूनी परामर्श र निर्देशन समितिले तोकेका अन्य सेवा ।
(ग) गम्भिर प्रकृतिको घटना भएको वा पारिवारिक मेलमिलापको पहल व्यर्थ भएको खण्डमा प्रभावित महिलालाई तत्काल संरक्षणमा लिएर आवश्यकता अनुसार खण्ड (ख) बमोजिमका सेवा ।
(घ) सुरक्षित सेवा केन्द्र आवश्यक नपर्ने तर खण्ड (ख) मा उल्लेखित सेवा आवश्यकता महसुस गरी निर्धारित प्रक्रियाबाट सम्प्रेषित प्रभावित महिला तथा वालबालिकाका हकमा आवश्यक सेवा ।
(ङ) सेवा केन्द्रमा रहेका प्रभावित महिला तथा वालबालिकाको हकभोग, पारिवारिक पुनर्मिलन, बैकल्पिक पुनःस्थापनाका लागि संप्रेषकलाई समन्वय गरी फिर्ता गर्ने ।
(च) स्थानीय स्वास्थ्य केन्द्र÷अस्पतालमा उपचार हुन नसक्ने चोटपटक भएमा, जटिल मनोसामाजिक समस्या भई थप उपचार आवश्यक परेमा स्थानीय तहमा अनुरोध गरी संघ वा प्रदेश सरकारसँगको समन्वयमा उपयुक्त ठाँऊमा उपचारको व्यवस्था गर्ने ।
(छ) फिर्ता सम्प्रेषित प्रभावित महिला तथा वालबालिकाकोे अवस्था अनुसार हकभोग, पारिवारिक पुनर्मिलन तथा घटनाको पुनरावृति नहोस् भन्नका लागि यथासक्य सहजीकरण गर्ने । त्यसका लागि उसका अविभावकसँग पटक पटक संस्थाका कर्मचारीले सम्पर्क गर्ने । अविभावक र नीजका संरक्षकको प्रतिवद्धता लिई सकेपछि नीजलाई अविभावक र गाँऊका भद्रभलाद्मी वा समुहको रोहवरमा घर फिर्ता गर्ने । संस्थाले बुझाएको कागज लिईसके पछि उक्त कागज व्यक्तिगत फाइलमा राखी नीजको व्यक्तिगत फाइल बन्द गरिन्छ र फेरी पुनः अर्को पटक आएमा त्यसै फाइलबाट कारवाही अगाडि बढाइने छ ।
(ज) स्थानीय तहको निगरानी समूह, समिति, सञ्जाल, मानव अधिकारवादी संस्था र अन्य सरोकारवाला संघसंस्थासँग निरन्तर सम्पर्क र समन्वय गर्ने ।
(झ) प्रभावित महिलाको पहुँच विस्तार गर्न स्थानीयस्तरका सेवा प्रदायकसँगको सम्बन्ध बिस्तार गर्ने ।
(ञ) पारिवारिक पुनर्मिलन गराउन असम्भव भएमा र प्रभावित महिलाको गरिखाने कुनै आधार नभएमा जीविकोपार्जनको लागि सीप विकासका तालिम तथा आर्थिक अनुदान प्रदान गर्ने वा त्यस्तो सेवा प्रदान गर्ने दिर्घकालिन पुनःस्थापना केन्द्रहरुमा सिफारिस गर्ने ।
(ट) घरेलु हिंसा तथा लैंगिक हिंसाका विरुद्धमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने ।
(ठ) सेवा केन्द्रको मासिक, चौमासिक तथा वार्षिक भौतिक एवं वित्तिय प्रगती प्रतिवेदन तयार गरी सम्बन्धीत निकायहरुमा पेश गर्ने ।
(ड) प्रचलित कानून बमोजिम न्याय प्राप्त गर्न तत्काल गर्नुपर्ने कार्य, सुरक्षित राख्नुपर्ने प्रमाण र उपचारका उपायबारे प्रभावित महिलालाई परामर्श दिनुका साथै उनीहरुको गोपनियता सुरक्षित राख्नुपर्ने ।
(ढ) निर्देशन समितिले तोकेका अन्य कार्य गर्ने ।
७. सेवा लिने प्रक्रिया÷सम्प्रेषण
(क) पीडित महिलाको मौखिक वा लिखित निवेदन,
(ख) जिल्ला अस्पताल, विभिन्न स्वास्थ्य केन्द्र तथा जिल्ला प्रहरी कार्यालयबाट सिफारिस भई आएका ।
(ग) सेवा केन्द्रको कार्यक्षेत्रभित्रका महिला संस्था वा अन्तर्गतको समितिको तर्फबाट सिफारिस भई आएको ।
(घ) खण्ड (ख) मा उल्लेखित समिति, संस्था नभएको कार्यक्षेत्रको हकमा केन्द्रसँग समन्वयमा कार्य गरेको सामुदायिक संस्थाबाट आएको ।
(ङ) विभिन्न सरकारी तथा गैरसरकारी सेवा प्रदायकको तर्फबाट सिफारिस भई आएको ।
(च) कार्यक्षेत्र बाहिरका प्रभावित महिलाको हकमा नगरपालिका समन्वय समितिको विशेष निर्णयको आधारमा महिला बालबालिका तथा सामाजिक शाखाको तर्फबाट आएको ।
८. अवधि
प्रभावित महिला सेवा केन्द्रमा सिफारिस भई आए पश्चात नीजको स्वास्थ्य, कानूनी, मानसिक, पारिवारिक, सामाजिक, आर्थिक अवस्थाका आधारमा एकैपल्ट वा पटक-पटक गरेर बढीमा ६ महिना सम्म सेवा केन्द्रमा राख्न सकिने छ । सो भन्दा बढी अबधिको सेवा आवश्यक पर्ने देखिएमा प्रदेश वा संघिय सरकारबाट सञ्चालित दिर्घकालिन आवाशगृहहरुमा सिफारिस गरी संम्प्रेषित गरिने छ ।
९. सेवा केन्द्रका लाभग्राही
सेवा केन्द्रमा आश्रय लिन सक्ने लक्षित वर्गमा देहाय बमोजिमका महिला र किशोरीहरु हुनेछन्ः
(क) घरेलु हिंसा पीडित तथा पीडितसँग आश्रित नाबालक ।
(ख) लैंगिक हिंसा पीडित तथा पीडितसँग आश्रित नाबालक ।
(ग) बेचबिखनमा परी उद्धार गरेर ल्याइएका पीडित ।
(घ) अन्य कुनै प्रकारले हिंसा वा दुर्वव्यवहारमा परेका पीडित ।
१०. सेवा केन्द्रका न्यूनतम मापदण्ड
(क) सेवा केन्द्र परिसरका मापदण्ड
झट्ट कोही प्रवेश गर्न नसक्ने गरी चारै तिर पर्खाल वा तारबार लगाइएको ।
हाताभित्र गृह अनुसारको खुल्ला ठाँऊ रहेको ।
आवागमन नियन्त्रण गर्न सक्ने गरिको बलियो प्रवेशद्धार भएको ।
सुरक्षाको दृष्टिकोणबाट उपयुक्त स्थान ।
(ख) आवास गृह
दुबैपट्टि झ्याल राखिएका हावा खेल्ने कोठाहरु,
कोठा एक जनाको लागि भए ६४ वर्गफिट र दुई वा सो भन्दा बढीको लागि भए प्रतिव्यक्ति ५० वर्गफिट क्षेत्रफल भएको,
प्रत्येक व्यक्तिका लागि छुट्टाछुट्टै खाट,
प्रभावित बालबालिकाका लागि अलग्गै बालमैत्री कोठा,
भूईमा उपयुक्त कार्पेट, झ्यालमा पर्दा र राखनधरन गर्न र लेखपढ गर्न आवश्यक फर्निचर,
मनोसामाजिक विमर्शका लागि छुट्टै कक्ष,
मनोरञ्जन, अन्तरक्रिया र आमोदप्रमोदको लागि साझा कोठा,
शौचालय तथा स्नानकक्ष,
साझा टेलिफोन र टेलिभिजन,
ठाँऊ हेरी पंखा वा हिटर,
पर्याप्त पानीको व्यवस्था,
नुवाइधुवाई, सरसफाइका सामग्री, भाँडाकुँडा, कुचो, फोहोर संकलन टोकरी, लुगा सुकाउने ठाँऊ इत्यादिको व्यवस्था,
तल्लापिच्छे अग्नी नियन्त्रक उपकरण र
सुरक्षाका लागि आवश्यकता अनुसार पालेपहरा ।
(ग) लुगाफाटो
भर्ना भएका प्रत्येक व्यक्तिका लागि देहाय बमोजिम लुगाफाटोको व्यवस्था हुनुपर्नेः
कम्मल, डसना, तन्ना, तकिया, सिरक, झुल, खोल चाहिनेमा खोल समेत एकएक थान,
एक-एक जोर चप्पल,
नभएकालाई एकसरो लगाउने कपडा ।
(घ) खानेकुरा
विहान चियासँगै हल्का खाजा ।
दिउँसो खाना
अपरान्ह पूर्ण खाजा र चिया
बेलुकी खाना
मांसाहारीका लागि सातामा कम्तिमा एक पटक माछा मासु
शाकाहारीका लागि दुध, दही, फलफुल तथा पनिर
उमालेको वा शुद्धिकरण गरिएको पिउने पानी ।
(ङ) स्वास्थ्योपचार
जिल्ला अस्पताल खाँदबारीमा वा निर्देशन समितिले तोकेको अस्पताल÷स्वास्थ्य संस्थामा संरक्षणमा लिइएका प्रभावित महिला तथा वालबालिकाको स्वास्थ्योपचार गराउनु पर्दछ । त्यसका अलावा केन्द्रमा देहायको स्वास्थ्योपचारको व्यवस्था हुनुपर्दछः
प्राथमिक उपचार बाकस
समस्या हेरी नियमित उपचार
आकस्मिक उपचार
बालबालिकाको हकमा उमेर अनुसार लगाउनु पर्ने खोप ।
(च) मनोसामाजिक विमर्श
व्यवस्थापन समितिले निर्धारण गरेको योग्यता हासिल गरेका विमर्शकबाट देहाय बमोजिम मनोसामाजिक विमर्श सेवा प्रदान गर्नु पर्दछ ।
संरक्षित व्यक्ति प्रत्येकलाई सातामा एकपल्ट नियमित सेवा
संरक्षित व्यक्तिको मनोदशा हेरी थप आवश्यक सेवा
सेवाग्राहीको व्यक्तिगत विवरणको गोप्यता कायम राख्ने व्यवस्था ।
(छ) कानूनी सेवा
देहायमा उल्लेखित कानूनी सेवा प्रदान गर्ने व्यवस्था मिलाउनु पर्दछ ।
प्रभावित महिलाले न्याय प्राप्त गर्न आवश्यक परामर्श र उपचारार्थ चाहेको सेवा
प्रभावित महिलाले प्रचलित कानून बमोजिमको हक प्राप्त गर्न आवश्यक परामर्श र उपचारार्थ चाहेको सेवा ।
(ज) सञ्चालन
केन्द्रका सेवाहरुको सञ्चालन देहायका व्यवस्थाहरुको पालना गर्नुपर्दछः
प्रभावित महिलालाई ममतामय, सहानुभुतीपूर्ण एवं सम्मानजनक व्यवहार गर्नुपर्नेछ ।
प्रभावित महिलाको गोपनीयता कायम राख्ने व्यवस्थाका साथै इच्छा विपरितको कुनै पनि कार्य गर्न वाध्य पारिने छैन ।
आवाशगृहमा अनुमतिप्राप्त चिकित्सक, कर्मचारी, सफाइकर्मी लगायतका समितिले तोकेको व्यक्ति बाहेक बाहिरका कसैलाई पनि प्रवेश मनाहि हुनेछ ।
आवाशगृहको व्यवस्था सम्बन्धी जानकारी सूचनाबोर्ड तयार गरी राख्नुपर्ने छ ।
(झ) जनशक्ति
केन्द्रमा प्रभावित महिलालाई प्राथमिकता दिई देहाय बमोजिमको पुरै प्रशिक्षित जनशक्ति हुनुपर्दछः
क) केन्द्र व्यवस्थापक - १ जना
ख) वार्डेन - १ जना महिला
ग) मनोविमर्शकर्ता - १ जना (आवश्यकताका आधारमा बोलाइने)
घ) केन्द्र सहयोगी - १ जना
ङ) पाले - १ जना
(ञ) नियुक्ति प्रकृया ः- आवश्यक जनशक्ति नियुक्तिका लागि निर्देशक समितिले निर्धारण गरेको मापदण्डका आधारमा अगाडि बढाइनेछ ।
(ट) अभिलेख
आवाशगृहले देहाय बमोजिम अभिलेख राख्नुपर्दछ ।
प्रभावित महिलाको दर्ता किताब
संरक्षित व्यक्तिको दैनिक हाजिरी किताव
संरक्षित व्यक्तिको व्यक्तिगत गोप्य फायल
नगर व्यवस्थापन समितिको निर्णय किताव
दोहोरो लेखा प्रणालीमा केन्द्रको आम्दानी खर्चको पारदर्शी लेखा तथा सो को पुष्टि गर्ने कागजात
स्वास्थ्योपचार, मनोसामाजिक विमर्श, कानूनी सेवाको विवरण खुल्ने सेवापिच्छेको लगत
निर्देशन समितिले तोकेको अन्य अभिलेख
११. खर्चका मानक तथा मापदण्ड
सेवा केन्द्रबाट सेवा प्रदान गर्दा देहायको प्रयोजनमा देहाय बमोजिमको सीमाभित्र रहेर खर्च गर्नु पर्दछः
(क) घरभाडाः सेवा केन्द्रका लागि लिइने घरको भाडा (बिजुली, पानी समेत) बापत साधरणतया वार्षिक रु ३ लाख ५० हजार भन्दा बढी नहुने गरी वा निर्देशन समितिले घर हेरी स्वीकृत गरेको रकम,
(ख) मालसामानः दच्छेना, पर्दा, खाट, विस्तारा, भाँडाकुँडा, टेलिभिजन, मेसिनरी औजार, खातापाता लगायतका स्थापनाका लागि आवश्यक खप्ने मालसामानका लागि सेवा केन्द्रले सेवा प्रदान गर्ने प्रभावित महिलाको संख्या अनुमान गरी निर्देशन समितिले स्वीकृत गरेको रकम ।
(ग) औषधोपचारः जिल्ला अस्पतालको एकद्धार संकट व्यवस्थापन केन्द्र स्थापना र सञ्चालन निर्देशिका, २०७७ को दफा ८ मा उल्लेख भए बमोजिम जिल्ला अस्पताल खाँदबारी मार्फत खर्च हुने ।
(घ) कानूनी उपचारः एक जना साथीसमेत अड्डा-अदालत जाँदाआउदा लाग्ने मितव्ययी सवारी साधनको भाडा, कानूनी दस्तुर र सेवा वापत निम्नानुसारको सीमा भन्दा बढी नहुने गरी लागेको यथार्थ खर्चः
सामान्य अवस्थामा प्रतिव्यक्ति रु. १,५०० सम्म ।
विशेष अवस्थामा निर्देशन समितिले निर्णय गरेकोमा थप रु. १,५०० सम्म ।
(ङ) फुटकरः सेवा केन्द्रमा रहेको अवधिभर ( बढीमा ६ महिना सम्म मात्र) प्रभावित महिलालाई फुटकर खर्च वापत प्रतिव्यक्ति दैनिक रु. ५० सम्म ।
(च) फिर्ता सम्प्रेषणः फिर्ता सम्पे्रषण गर्दा साथी समेतको मितव्ययी सवारी साधनको भाडा तथा एकै दिनमा पुगिनेमा खाजा खर्चवापत प्रतिव्यक्ति रु. ३०० सम्म र वास बस्नु पर्नेमा बस्नेखाने खर्चवापत प्रतिव्यक्ति दैनिक रु. ८०० सम्म ।
(छ) खानेकुराः सेवा केन्द्रमा रहेको अवधिभरि प्रभावित महिलाको खानेकुरामा दैनिक रु. ३५० सम्म ।
(ज) मनोसामाजिक विमर्शः प्रभावित महिलालाई आवश्यक मनोसामाजिक विमर्श प्रदान गर्न बाहिरबाट विमर्शक ल्याउनु परेमा प्रतिव्यक्ति प्रति दिन रु. ५०० सम्म ।
(झ) लुगाफाटोः प्रभावित महिलाको कपडा च्यातिएर, रक्ताम्य भएर वा एकसरो मात्र भएको अवस्थामा न्यूनतम रुपमा अत्यावश्यक लुगाफाटो किन्न प्रतिव्यक्ति रु.२,००० सम्म ।
(ञ) जीविकोपार्जन अनुदानः माथि ४ (ढ) मा उल्लेखित अवस्थामा जीविकोपार्जन अनुदान वापत प्रति प्रवाहित महिलालाई परियोजना हेरी रु. १५,००० सम्म निर्देशन समितिले उपलब्ध श्रोतसमेतको विचार गरी प्रदान गर्ने ।
(ट) व्यवस्थापन खर्चः जनशक्तिका लागि ५ जना कर्मचारी राख्नुपर्दा रु. १६ लाख सम्म, ४ जना सम्म राख्नुपर्दा रु. १२ लाख सम्म र ३ जनासम्मले व्यवस्थापन गर्नसक्ने अवस्थामा रु. १० लाखसम्म र प्रतिवेदन, सञ्जालीकरण, समीक्षा र केन्द्रको गतिविधिसमेतको खर्चवापत रु. २ लाख सम्म ।
(ठ) बैठक खर्चः निर्देशन समिति र समन्वय समितिको बैठक सञ्चालन खर्चवापतको दर, खाजा खर्च तथा अन्य खर्च नगरपालिकाको स्वीकृत मापदण्ड अनुसार हुनेछ ।
१२. निर्देशन समिति गठन
खाँदबारी नगरपालिकाले नगर प्रमुखको अध्यक्षतामा देहाय बमोजिमको सेवा केन्द्रको निर्देशन समिति गठन गर्ने छ ।
नगर प्रमुख अध्यक्ष
नगर उपप्रमुख सदस्य
नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत सदस्य
संयोजक, सामाजिक विकास समिति सदस्य
जिल्ला प्रहरी कार्यालय प्रमुख सदस्य
स्वास्थ्य कार्यालय प्रमुख सदस्य
जिल्ला बार काउन्सिल प्रमुख वा प्रतिनिधि सदस्य
पत्रकार महासंघको प्रतिनिधि सदस्य
महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाका प्रमुख सदस्य
महिला वालबालिका तथा जेष्ठ नागरिक उपशाखाको महिला कर्मचारी सदस्य
सामाजिक विकास शाखा प्रमुख सदस्य सचिव
१३. निर्देशन समितिको काम, कर्तव्य र अधिकार
सेवा केन्द्र निर्देशन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहने छः
(क) सेवा केन्द्र सञ्चालन गर्न जिल्लाका स्थानीय सरकारहरुसँगको समन्वयमा बजेटको व्यवस्था गर्ने, नगरसभाबाट तोकिएको मापदण्ड अनुसार सेवा केन्द्रलाई खर्चको अख्तियारी दिने, सेवा केन्द्रलाई आवश्यक विज्ञ वा कर्मचारी प्रचलित कानून बमोजिम व्यवस्था गर्ने ।
(ख) सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापनका लागि प्राप्त भएको रकम र कार्य प्रगतिको प्रतिवेदन प्रत्येका चार चार महिनामा नगरपालिकामा बुझाउने व्यवस्था मिलाउने ।
(ग) न्यायिक समिति, प्रहरी कार्यालय, ओसिएमसि र सरोकारवाला निकायबाट जोखिममा रहेका, हिंसा पिडित महिला, किशोरी र बालबालिकाहरु पहिचान गरी आवाशगृहमा राख्ने व्यवस्था गर्ने ।
(घ) सुरक्षित आवाशगृहको सुरक्षा व्यवस्थाको अनुगमन नियमन कार्य गर्ने ।
(ङ) महिला, किशोरी र बालबालिकाको स्वास्थ्य, सुरक्षा र कानूनी सहायता सम्बन्धी कार्य गर्न समवन्य समितिलाई सहयोग गर्ने ।
(च) जोखिमा रहेका हिंसा पिडित महिला, किशोरी र बालबालिकाहरु अन्य स्थानमा पठाउनु पर्ने आवश्यकता भएमा सिफारिस गर्ने ।
(छ) सेवा केन्द्र सञ्चालनको सहकार्य गर्न वा पुरै सञ्चालनको जिम्मा दिन समितिले आवश्यक ठानेमा सेवा केन्द्र सञ्चालन गर्ने संघसंस्था छनौट गर्ने ।
(ज) अन्य काम, कर्तव्य र अधिकार सम्बन्धीत समितिको सिफारिसमा नगरपालिकाले तोके बमोजिम हुनेछ ।
(झ) यो कार्यविधि बमोजिम गठित समितिको पदावधि ४ वर्षको हुनेछ ।
१४. समन्वय समिति
सेवा केन्द्रको सञ्चालन केन्द्रका कर्मचारीहरुलाई मार्गदर्शन प्रदान गर्न, पदत्त सेवाहरुको गुणस्तर सुनिश्चित गर्न र विभिन्न सेवा प्रदायकमाझ सहकार्यलाई वढावा दिन समेतका लागि निर्देशन समितिबाट देहाय बमोजिमको एक समन्वय समिति गठन गरिनेछः
नगर उप-प्रमुख - संयोजक
नगरसभा सदस्य मध्येबाट १ जना दलित महिला सहित २ जना - सदस्य
सामाजिक शाखा प्रमुख - सदस्य
कानूनी सल्लाहकार - सदस्य
ओसिएमसि को प्रतिनिधि १ जना - सदस्य
जिल्ला प्रहरी कार्यालय महिला सेल १ जना - सदस्य
महिला अधिकारकर्मी, सञ्चारकर्मी, लैंगिकहिंसा विरुद्ध कार्यरत
गैससबाट निर्देशन समितिले मनोनयन गरेका ३ जना - सदस्य
सेवा केन्द्र सञ्चालक महिला संस्थाका अध्यक्ष - सदस्य
१५. समन्वय समितिको काम, कर्तव्य र अधिकार
समन्वय समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहने छः
(क) सेवा केन्द्र सञ्चालन सम्बन्धीको आन्तरीक आचार संहिता, दैनिक केन्द्र सञ्चालन सम्बन्धी निर्देशिका जारी गरी कार्यन्वयन गराउने ।
(ख) सेवा केन्द्रका सेवासुविधाको र केन्द्रमा कार्यरत कर्मचारीहरुको कामको अनुगमन तथा मूल्यांकन गर्ने र आवश्यक सल्लाह सुझाव दिने ।
(ग) हिंसा पिडित महिला, किशोरी र बालबालिकाहरुलाई प्रदान गरिएको सेवा सुविधाको प्रभावकारीताको लेखाजोखा गर्ने र सुधार गर्नुपर्ने देखिएमा निर्देशन समितिलाई सुधारको लागि अनुरोध गर्ने ।
(घ) लैंगिक तथा घरेलु हिंसा विरुद्धका जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने ।
(ङ) सेवा केन्द्रमा रहेका महिला तथा किशोरीहरुको पारिवारिक पुनर्मिनलन तथा पुनःस्थापना जस्ता कार्यमा आवश्यकता अनुसार केन्द्रका कर्मचारीहरुलाई सहयोग गर्ने ।
(ज) अन्य काम, कर्तव्य र अधिकार सम्बन्धीत समितिको सिफारिसमा नगरपालिकाले तोके बमोजिम हुनेछ ।
(झ) यो कार्यविधि बमोजिम गठित समितिको पदावधि ४ वर्षको हुनेछ ।
१६. विविध
सुरक्षित आवाशगृहका अन्य आवश्यक व्यवस्था देहाय बमोजिम रहनेछः
(क) बालिका भएमा बालबालिकासँग काम गर्ने विभिन्न संघसंस्थासँग समन्वय गरी बालिकाको लामो भविष्य सम्मको लागि उचित व्यवस्था गर्ने प्रयास गरिने छ ।
(ख) महिलाहरुको लागि सीप सिक्ने तालिमहरुको लागि सरकारी तथा गैरसरकारी संघसंस्थाहरुद्धारा सञ्चालित दिर्घकालिन आवाशगृशहरुसँग समन्वय गरी रिफर गरिने छ ।
(ग) आवाशगृहमा बसेका पिडितलाई भेट्न आउने व्यक्तिले पिडितको स्वीकृती भएमा मात्र भेट्न दिनुपर्नेछ ।
(घ) कार्यालय समयभित्र मात्र भेट्न पाउने व्यवस्था मिलाउने ।
(ङ) आवाशगृहमा सरोकारवाला वा अनुमति प्राप्त बाहेक अन्य पुरुषहरुको प्रवेश निषेध गरिनेछ ।
(च) केहि काम परी पिडित बाहिर जानु परेमा आवाशगृहका कर्मचारीले लानुपर्ने छ ।
(छ) आवाशगृहमा बसेको व्यक्ति सम्बन्धीत घटनाको विषयमा निश्चित फैसला नभए सम्मका लागि आवाशगृह सञ्चालन गर्ने संस्थाको निगरानीमा रहनेछ । निगरानीमा रहुन्ज्याल सम्म घर जाने आउने वा बाहिर गई बस्ने र फेरी आवाशगृहमा आउने गर्न पाइने छैन । पिडितसँग भएको नगद वा अन्य महत्वपूर्ण सामग्री संस्थाले सुरक्षित राखिदिने छ ।
(ज) आवाशगृहमा बस्नेहरुले सामान्य पढ्न लेख्न मन गरेमा उनीहरुलाई आवश्यक सामग्री प्रदान गर्नुपर्ने छ ।
(झ) यो कार्यविधि आवाशगृह सञ्चालन सम्बन्धी प्रचलित नेपाल सरकारको कानूनसँग बाझिन गएमा वाझिएको हदसम्म कार्यविधिमा लेखिएका कुराहरु अमान्य हुनेछन् ।