बृहत्तर मनकामना विकास समिति ऐन, २०७५

खाँदबारी राजपत्र

खाँदबारी नगरपालिकाद्धारा प्रकाशित

खण्डः१ खाँदबारी, सङ्खुवासभा नेपाल, असार 27, २०७5 साल, संख्या 6

भाग-१

खाँदबारी नगरपालिका

खाँदबारी नगर कार्यपालिकाके कार्यालय

१ नं. प्रदेश सङ्खुवासभा, नेपाल

नेपालको संविधानको भाग १८ धारा २२१ बमोजिम खाँदबारी नगरपालिकाको तेस्रो नगर सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।

सम्बत 2075 सालको ऐन नं. : ६ (ख)

खण्ड-१) संख्या ६, खाँदबारी राजपत्र, भाग-1, मिति 2076/03/27

बृहत्तर मनकामना विकास समिति ऐन, २०७५

नगरसभाबाट स्वीकृत मितिः2075/03/26

प्रमाणीकरण मितिः2075/03/26

राजपत्रमा प्रकासित मितिः 2075/03/27

प्रस्तावन: संसारकै सबैभन्दा होचो अरुण उपत्यका खाँदबारी नगरपालिकाको वडा नं. ९ अरुण नदीको किनारमा रहेको एक एतिहासिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको धरोहरुको रुपमा मनकामना मन्दिर अवस्थित छ । मनकामना धाम अरुण उपत्यकाका विभिन्न तिर्थ स्थलहरु मध्येको एक प्रमुख तीर्थ स्थल हो । मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वसले दर्शन गर्नका लागि धेरै टाढाबाट भक्तजनहरु आउँदछन् । यस तिर्थस्थलले स्थानीय रुपमा प्रशिद्धि पाएको भए पनि प्रचार प्रसारको अभावमा अपेक्षाकृत रुपमा वाह्रय धार्मिक पर्यटकीय भक्तजनहरु आउन सकेको अवस्था छैन भने ऐन नियमावली, सञ्चालन कार्यविधि र गुरुयोजनाको अभावका कारण मनकामना धाम ओझेलमा परेको हुनाले उक्त मनकामना क्षेत्रलाई एकिकृत विकास गरी धार्मिक केन्द्र, पुरातात्विक, धार्मिक अध्ययन, प्रवचन जस्ता कार्य गर्ने तथा धार्मिक पर्यटन क्षेत्रको विकास गर्न वान्छनीय भएकोले

नेपालको संविधानको धारा २२६, स्थानीय सरकार सञ्चालन ऐनको दफा १०२, खाँदबारी नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन,२०७५ को दफा ३ बमोजिम खाँदबारी नगर सभाले यो "मनकामना बृहत्तर विकास समिति ऐन २०७५" स्वीकृत गरी लागू गरेको छ ।

1. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम "बृहतर मनकामना विकास समिति ऐन २०७५" रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

2. परिभारषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,

(क) "ऐन " भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, 2074 तथा खाँदबारी नगरपालिका

प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, 2075 लाई सम्झनु पर्छ ।

(ख) "समिति" भन्नाले दफा ३ बमोजिम गठित बृहत्तर मनकामना विकास समिति सम्झनु पर्छ ।

(ग) "मनकामना क्षेत्र" भन्नाले संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा नं. ९ स्थित मनकामना मन्दिर र मनकामना सन्यास आश्रमको नाममा रहेको जग्गाहरु तथा मनकामना सँग सम्बन्धित चर्चिएका जग्गाहरु तथा अन्य आसपासमा रहेको सार्वजनिक जग्गाहरु सम्झनु पर्छ ।

(घ) "नगरपालिका" भन्नाले खाँदबारि नगरपालिकालाई सम्झनु पर्दछ ।

(ङ) "नगर प्रमुख" भन्नाले खाँदबारी नगरपालिकाका प्रमुखलाई जनाउँदछ ।

(च) "अध्यक्ष" भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।

(छ) "सदस्य" भन्नाले समितको सदस्य सम्झनु पर्छ ।

(ज) "कार्यकारी निर्देक" भन्नाले दफा ६ बमोजिम नियुक्त कार्यकारी निर्देशक सम्झनु पर्छ

(झ) "तोकिएको" वा तोकिए बमोजिम" भन्नाले यस अन्तर्गत बनेको ऐनमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

3. बृहत्तर मनकामना विकास समितिको गठन : (१) मनकामना क्षेत्रको सामाजिक, पुरातात्विक धार्मिक, आर्थिक र साँस्कृतिक पक्षको संरक्षण, सम्बर्द्धन गर्न बृहत्तर मनकामना विकास समिति नामको एउटा समिति गठन हुनेछ ।

(२) उपदफा (१) बमोजिमको समितिमा देहायका सदस्यहरु रहनेछन् :-

(क) नगरपालिका प्रमुख -अध्यक्ष

(ख) नगपालिकाका उप-प्रमुख -सदस्य

(ग) नगर कार्यपालिकाको सामाजिक विकास समितिका -संयोजक

(घ) सामाजिक, धार्मिक, आर्थिक, पुरातात्विक र बौद्धिक क्षेत्रमा विशिष्ट योगदान दिदै आएका र सो क्षेत्रको विकासमा चासो राख्ने व्यक्तिहरु मध्येबाट कम्तिमा एक महिला सहित अध्यक्षले मनोनीत गरेका ५ जना -सदस्य

(ङ) खाँदबारी नगरपालिका वडा नं.९ का वडा अध्यक्ष र एक महिलासिहत २ जना

- सदस्य

(च) समितिले मोनित गरेको पर्यटन सम्बन्धी विज्ञ १ -सदस्य

(छ) प्रमुख प्रशासकीय अधिकृत -सदस्य

(ज) कार्यकारी निर्देशक - सदस्य सचिव

स्पष्टिकरणः मनकामना मन्दिर परिसर क्षेत्रभित्र कार्य गर्ने संघ संस्थाका अध्यक्षहरु समितिको बैठकमा आवश्यकता अनुसार आमन्त्रण गर्न सकिने छ ।

  • मनोनित सदस्यहरुको पदावधि ३ वर्षको हुनेछ र निजहरु पुनः मनोनित हुन सक्नेछन्।
  • समितिले आवश्यकता अनुसार अन्य स्वदेशी वा विदेशी व्यक्तिहरुलाई समितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

4. समितिको काम,कर्तव्य र अधिकार : (१) समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

(क) बृहत्तर मनकामना विकास सम्बन्धी गुरु योजना बनाई कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने

(ख) बृहत्तर मनकमना विकास सम्बन्धी योजना र कार्यक्रमको कार्यान्वयनका लागि समितिले स्वदेशी वा विदेशी सरकार, राष्ट्रिय वा अन्तराष्ट्रिय संघ, संस्था वा व्यक्तिसँग सम्पर्क र समन्वय गर्ने ।

(ग) मनकामना क्षेत्रसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धित साँस्कृतिक, धार्मिक, ऐतिहासिक, सामाजिक तथा पुरातात्विक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बर्द्धन एवं पुनः निर्माण गर्ने, गराउने ।

(घ) मनकामना क्षेत्रसँग सम्बन्धित पाण्डुलिपी, शिलालेख, ताम्रपत्र तथा मुद्रित सामाग्रीको संकलन र संरक्षण गर्ने, गराउने ।

(ङ) मनकामना क्षेत्रभित्रका प्राकृतिक सम्पदा, वातावरण तथा पशुपंक्षीको रेखदेख तथा संरक्षण गर्ने, गराउने ।

(च) मनकामना क्षेत्रको महत्व र यसको विकासका निमित्त सभा, सम्मेलन, गोष्ठी, प्रदर्शनी आदिको आयोजना गरी श्रब्यदृष्यहरुको निर्माण गरी विभिन्न विद्युतीय, संचारको माध्यमहरु (रेडियो, एफ. एम, टेलिभिजन, वेव साइट, फेसवुक, पत्र पत्रिका, ब्रोसर, आदि) बाट यसको प्रचार प्रसार गर्ने, गराउने ।

(छ) मनकामना क्षेत्रको विकास र उन्नतिका निमित्त सरकारी तथा गैरसरकारी संस्थाहरुबीच आवश्यक समन्वय गराउन प्रयत्नरत रहने ।

(ज) मनकामना क्षेत्रमा रहेका शिक्षालय (गुरुकुल) स्वास्थ्य केन्द्र, पुल, ढल, कुलो, कुलेसो, बाटोघाटो, पानी, बिजुली, टलिफोन, सार्वजनिक शौचालय, धर्मशाला, धार्मिक साधना स्थल, मठ, मन्दिर वातावरणीय सुधार आदि कुराहरुलाई व्यवस्थित गर्ने ।

(ञ) मनकामना क्षेत्रको धार्मिक तथा साँस्कृतिक महत्वलाई आघात पुर्याउने खालका गतिविधिहरुको सञ्चालनमा नियन्त्रण र निषेध गर्ने ।

(ट) मनकामना क्षेत्रमा दाह संस्कार (घाट) को उचित व्यवस्थापन गर्ने ।

(ठ) मनकामना क्षेत्र भित्र पर्ने अरुण नदीको नियन्त्रण तथा व्यवस्थापन गर्ने ।

(ड) मनकामना क्षेत्र भित्र पार्क, उद्यान, बृद्धाश्रमहरुको निर्माण तथा व्यवस्थापन गर्ने ।

(ण) धार्मिक पहिचान सम्बन्धी लेखन, गायन तथा सांगेतिक विधामा योगदान पुर्याउने श्रष्ठाहरुको सम्मानमा सम्झन योग्य कार्य गर्ने ।

(त) मनकामना धाम भित्र रहेका चल अचल सम्पत्तिहरुको संरक्षण गर्ने ।

(थ) समितिको उद्देश्य पूर्तिको लागि आवश्यक अन्य कार्यहरु गर्ने, गराउने ।

५. समितिको बैठक सम्बन्धी कार्यविधि : (१) समितिको बैठक वर्षको कम्तीमा ६ पदक बस्नेछ ।

(२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ र बैठक वस्ने सूचना बैठक बसनुभन्दा कम्तीमा एक हप्ता अगावै सदस्यहरुलाई दिनु पर्नेछ ।

(३) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपस्थित नगरपालिकाका उप-प्रमुख समितिका सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।

(४) समितिको कूल सदस्य संख्याको ५१ प्रतिशत सदस्यहरु उपस्थित भएमा समितिको बैंठकको लागि गुणपुरक संख्या पुगेको मानिने छ ।

(५) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।

(६) समितिको निर्णय सदस्य- सचिवले प्रमाणित गर्नेछ ।

(७) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

6. कार्यकारी निर्देशक : (१) समितिको कार्यकारी निर्देशकको रुपमा नगर प्रमुखले नियुक्त गर्न सक्नेछ ।

(२) उपदफा (१) कार्यकारी निर्देशकको रुपमा नियुक्त हुने सदस्य सचिव कम्तिमा स्नातक तह उतिर्ण भई धार्मिक, सामाजिक, पर्यटन, पुरातात्विक तथा योना निर्माण सम्बन्धी कार्य अनुभव भएको हुनु पर्ने छ ।

(३) कार्यकारी निर्देशकको पदावधि ५ वर्षको हुनेछ ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि नगर प्रमुखले आवश्यक देखेमा कार्यकारी निर्देशकलाई निजको पदावधि समाप्त नहुँदा पदबाट हटाउन सक्नेछ ।

७. समितिका कर्मचारीहरु : (१) समितिले आवश्यकता अनुसार समितिका कर्मचारीहरु नियुक्ति गर्न सक्नेछ।

(२) समितका कर्मचारीहरुको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा तोकिए बमोजमि हुनेछ ।

8. समितिको कोष : (१) समितिको एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहायका सम्पत्ति रहनेछन् :-

(क) नेपाल सरकार (संघ/प्रदेश) बाट प्राप्त रकम

(ख) कुनै व्यक्ति वा संस्थाले सहायता स्वरुप प्रदान गरेको भौतिक जिन्सी तथा रकम।

(ग) अन्तराष्ट्रिय संघ, संस्था, विदेशी सरकार वा व्यक्तिबाट प्राप्त रकम ।

(घ) नगरपालिकाले उपलब्ध गराएको भौतिक, जिन्सी, रकम ।

(ङ) मनकामना देवीको मन्दिरमा भक्तजनहरुद्धारा चढाइएको रकम, भौतिक जिन्सि, मध्ये समितिले तोकेको रकम ।

(च) अन्य स्रोतबाट प्राप्त रकम ।

(२) उपदफा (१) को खण्ड (ग) अन्तर्गतको रकम प्राप्त गर्नु अघि समितिले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।

(३) समितिको कोष रहने रकम "क" बर्गको कुनै बैंकमा खाता खोली जम्मा गर्नु पर्नेछ ।

(४) समितिको नामबाट गरिने सबै खर्च उपदफा (१) बमोजिमको कोषबाट ब्यहोरिनेछ ।

(५) समितिको खाता सदस्य-सचिव र अध्यक्ष वा समितिले तोकेको सदस्यको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ ।

9. लेखापरीक्षण : (१) समितिको आय-व्ययको लेखा प्रचलित कानून बमोजिम राख्नु पर्नेछ ।

(२) समितिको लेखा परीक्षण नगरपालिकाले तोकेको लेखापरीक्षकबाट हुनेछ ।

(३) खाँदबारी नगरपालिकाले समितिको आय - व्ययको लेखा, तत्सम्बन्धी कागजात र अरु नगदी वा जिन्सी जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।

10. सल्लाहकार तथा उप- समिति गठन गर्न सक्ने : (१) समितिले आवश्यक सल्लाहकार समिति गर्न सक्ने छ र आफूले गर्न् पर्ने काम गर्न, गराउनको निमित्त आवश्यकता अनुसार विषयगत उप-समिति गठन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम गठन हुने उप- समितिको काम, कर्तव्य र अधिकार तथा कार्यविधि समितिले तोके बमोजिम हुनेछ ।

११. बैठक भत्ता तथा अन्य सुविधा : सदस्यहरुले तोकिएय बमोजिम बैठक भत्ता तथा सुविधा पाउनेछन् ।

12 अधिकार प्रत्यायोजन : अध्यक्षले आवश्यकता अनुसार समितिको कुनै सदस्यलाई अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।

13. नेपाल सरकारसँग सम्पर्क : समितिले नेपाल सरकार (संघ/प्रदेश) सँग सम्पर्क राख्दा संस्कृति पर्यटन मन्त्रालय मार्फत राख्नु पर्नेछ ।

14. समितिको कार्यालय : समितिको कार्यालय वडा नं. ९ को मनकामना परिसरमा रहनेछ । शाखा कार्यालय आवश्यकता अनुसार राखिने छ ।

15. सर्वाधिकार रहने : यस ऐन अन्तरगत गठन भएको समितिलाई मनकामना क्षेत्रभित्र सम्पूर्ण कार्य गर्ने सर्वाधिकार रहने छ । यस समितिको स्वीकृतिविना कुनै कार्य गर्न पाइने छैन ।

16. नियम बनाउने अधिकार: समितिले उद्देश्य पूर्तिको लागि आवश्यक अन्य नियमहरु बनाउन सक्नेछ र नगरपालिकाको कार्यपालिकाबाट स्वीकृत भएपछि मात्र त्यस्तो नियमहरु लागू हुनेछ ।

आज्ञाले

कृष्ण कुमार निरौला

मिति :2075/03/27 प्रमुख प्रशासकीय अधिकृत