नगर प्रहरी ऐन, २०७६

खाँदबारी राजपत्र

खाँदबारी नगरपालिकाद्धारा प्रकाशित

खण्डः१ खाँदबारी, सङ्खुवासभा नेपाल, असार 24, २०७6 साल, संख्या 4

भाग-१

खाँदबारी नगरपालिका

खाँदबारी नगर कार्यपालिकाके कार्यालय

१ नं. प्रदेश सङ्खुवासभा, नेपाल

नेपालको संविधानके भाग १८ धारा २२१ बमोजिम खाँदबारी नगरपालिकाको नगरसभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागी प्रकाशन गरिएकोछ ।

सम्बत 2076 सालको ऐन नं. : ४ (चार)

खण्ड-२) संख्या ४, खाँदबारी राजपत्र, भाग-1, मिति 2076/03/24

नगर प्रहरी ऐन, २०७६

नगरसभाबाट स्वीकृत मितिः2076/03/23

प्रमाणीकरण मितिः2076/03/23

राजपत्रमा प्रकासित मितिः 2076/03/24

खाँदबारी नगरपालिकाले उपलब्ध गराउने सेवा प्रवाह र विकास निर्माणको कार्यमा सहयोग पुर्याउँदै नगरभित्र सुव्यवस्था कायम गर्न, नगरको सम्पत्तिको सुरक्षा र संरक्षण तथा नगरपालिकाको निर्णय कार्यान्वयनमा प्रभावकारिता ल्याउन नगर प्रहरीको संचालन एंव परिचालन कार्यलाई व्यवस्थित बनाउन वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा ५७ (४) र अनुसूची -8 मा भएको व्यवस्था, स्थानीय सरकार संचालन ऐन, 2074 को दफा १०२ (१) र खाँदबारी नगरपालिका प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी खाँदबारी नगरपालिकाको नगरसभाले यो ऐन बनाएको छ ।

  • संक्षिप्त नाम र प्रारम:
  • यस ऐनको नाम "खाँदबारी नगरपालिकाको नगर प्रहरी ऐन, 2076" रहेको छ ।
  • यो ऐन तुरुन्त लागू हुनेछ ।

2. परिभाषा विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा :

(क) "ऐन" भन्नाले "स्थानीय सरकार सञ्चालन ऐन,2074" सम्झनु पर्दछ ।

(ख) "ऐन-2" भन्नाले "खाँदबारी नगरपालिका प्रशासकीय कार्यविधि नियमित गर्ने)

ऐन,2075" सम्झनु पर्दछ ।

(ग) "नगरपालिका" भन्नाले खाँदबारी नगरपालिकालाई सम्झनु पर्दछ ।

(घ) "नगर सभा" भन्नाले खाँदबारी नगरपालिकाको नगर सभा सम्झनु पर्दछ ।

(ङ) " नगर कार्यपालिका" भन्नाले खाँदबारी नगरपालिकाको नगर कार्यपालिका सम्झनु पर्दछ ।

(च) "प्रमुख" भन्नाले खाँदबारी नगरपालिकाको प्रमुख सम्झनु पर्दछ ।

(छ) "उप प्रमुख" भन्नाले खाँदबारी नगरपालिकाको उप-प्रमुख सम्झनु पर्दछ ।

(ज) "कार्यालय" भन्नाले नगरपालिकाको कार्यालयलाई सम्झनु पर्दछ ।

(झ) "प्रमुख प्रशासकीय अधिकृत" भन्नाले नेपाल सरकारद्धारा प्रमुख प्रशासकीय अधिकृतको रुपमा

खाँदबारी नगरपालिकामा कामकाज गर्न खटाईएको अधिकृतलाई सम्झनु पर्दछ ।

(ञ) "समिति" भन्नाले खाँदबारी नगरपालिकाको यस ऐन बमोजिम गठित पदपूर्ति समितिलाई

सम्झनु पर्दछ ।

(ट) "नगर प्रहरी" भन्नाले खाँदबारी नगरपालिकाबाट नियुक्त प्रहरी कर्मचारीलाई सम्झनु पर्दछ ।

(ठ) " तोकिएको वा तोकिए बमोजिम" भन्नाले नगर कार्यपालिकाले समय समयमा निर्णय गरी

तोकिए बमोजिम सम्झनु पर्छ ।

(ड) "जवान" भन्नाले खाँदबारी नगरपालिकाले जवान पदमा नियुक्ति गरेको प्रहरीलाई सम्झनु पर्दछ

(ढ) " नगर प्रहरी ऐन" भन्नाले नगरसभाले स्वीकृत गरेको नगर प्रहरी सम्बन्धी ऐन, 2076 लाई

सम्झनु पर्दछ ।

परिच्छेद 2

नगर प्रहरी सेवा गठन, रेखदेख र नियन्त्रण

3. नगर प्रहरी सेवाको गठन : (१) नगरपालिकामा एक नगर प्रहरी सेवा समूह रहने छ । नगर प्रहरी सेवाको गठन र त्यसमा रहने नगर प्रहरी कर्मचारीहरुको संख्या सभाले तोके बमोजिम हुनेछ ।

4. नगरपालिकामा रहने नगर प्रहरीको पद र तह : (१) नगर प्रहरीमा रहने नगर प्रहरीको पद र

तह नगरसभाबाट स्वीकृत भए बमोजिम हुनेछ ।

(२)नगरपालिकाले प्रत्यक पदको कार्य विवरण बनाई लागू गर्नेछ ।

त्यसरी लागू भएको कार्य विवरणमा नगर प्रहरीको काम, कर्तब्य, अधिकार, जिम्मेवारी र उत्तरदायित्व उल्लेख गरिनेछ ।

परिच्छेद -3

नगर प्रहरी कर्मचारीको काम, कर्तब्य र अधिकार

5. नगर प्रहरी कर्मचारिको काम, कर्तब्य र अधिकार देहाय बमोजिम हुनेछ

(क) नगरपालिकाको नीति, नियम, निर्देशिका, कार्यविधी, मापदण्ड तथा निर्णयको

कार्यान्वयन गर्ने ।

(ख) नगरपालिकाको नाममा रहेको चल अचल सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने ।

(ग) स्थानीय स्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वमा आवश्यक

सुरक्षाका प्रबन्ध मिलाउने ।

(घ) स्थानीय हाट बजार तथा पार्किङ स्थलको रेखदेख र ब्यवस्थापन गर्ने ।

(ङ) नगर सरसफाई सम्बन्धी मापदण्ड कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण कार्य

गराउने ।

(च) न्यायिक समितिले गरेका मित्रापत्र तथा निर्णय कार्यान्वयन गर्ने/ गराउने कार्यमा

सहयोग गर्ने ।

(छ) सार्वजानिक ऐलानी र पर्ती जग्गा, सार्वजानिक भवन धार्मिक तथा साँस्कृति सम्पदा र

भौतिक पूर्वाधारहरुको संरक्षण र सुरक्षा गर्ने ।

(ज) विपद् व्यवस्थापन सम्बन्धी खोज, उद्धार, राहत तथा पुर्नस्थापना सम्बन्धी कार्य गर्ने।

(झ) नगर क्षेत्रमा राखिएका अनाधिकृत विज्ञापन तथा होर्डिङ बोर्ड नियन्त्रण र व्यवस्थापन

गर्ने गराउने ।

(ञ) छाडा चौपायाको नियन्त्रण तथा ब्यवस्थापन सम्बन्धी कार्य गर्ने ।

(ट) मापदण्ड विपरित अनाधिकृत रुपमा निर्माण गर्न लागेका सार्वजानिक सम्पत्तिको

अतिक्रमण गरि बन्न लागेका संरचनाहरुको रोकथाम तथा नियन्त्रण गर्ने ।

(ठ) सार्वजनिक आवागमनमा बाधा पुर्याउने गरी बजार क्षेत्रमा राखिएका सामाग्रीहरु

तत्काल हटाउने व्यवस्था मिलाउने ।

(ठ) सार्वजनिक आवागमनमा बाधा पुर्याउने गरी बजार क्षेत्रमा राखिएका सामाग्रीमहरु

तत्काल हटाउन ब्यवस्था मिलाउने ।

(ड) सार्वजनिक जग्गा, बाटो, पुल-पुलेसा, मठ, मन्दिर, ढल, नाला, चोक, पोखरी, चौपारी,

खोला मिचि कसैले घर कम्पाउण्ड टहरा वा त्यस्तै अन्य निर्माण कार्य भए गरेको

सम्बन्धमा नगर प्रमुखको आदेशानुसार गर्ने/ गराउने ।

(ढ) नगर क्षेत्रमा अनियमित रुपमा नक्शा पास नगरी र नक्शा पास गरी निर्माण भएका

संरचनाहरुको विषयमा प्रमुख प्रशासकीय अधिकृतले दिएको निर्देशन कार्यान्वयन गर्ने ।

(ण) जनस्वास्थ्यलाई प्रतिकूल असर पर्ने म्याद गुज्रेका वा गुणस्तरहिन खाद्य सामाग्रीहरुको

विक्री वितरण गरेको पाइएमा त्यसको प्रतिवेदन गरपालिकामा पेश गर्ने ।

(त) जनस्वास्थ्यलाई प्रतिकूल असर पर्ने स्थानमा पशुपन्छीजन्य वस्तुहरुको विक्री वितरणमा

रोक लगाउने र कसैले प्रचिलत कानूनको प्रतिकूल हुने गरी पशुपन्छीको बध गरेमा

तत्काल कारवाहीको लागि नगरपालिकामा पेश गर्ने र निर्देशन कार्यान्वयन गर्ने ।

(थ) नगरपालिकामा रहेका भुस्याहा कुकुरको नियन्त्रण र मृत्यु भएका जीवजन्तुको व्यवस्थापन

गर्ने ।

(द) नगर क्षेत्रमा रहेका खतराज्नय घर, पर्खाल, टहरा र रुख विरुवा कटान गर्नका लागि

नगरपालिकामा सिफारिस गर्ने ।

(ध) नगरपालिकामा दर्ता नभई सञ्चानलमा रहेका ब्यापार व्यवसायलाई दर्ता तथा नविकरण गरे

नगरेको सम्बन्धमा अनुगमन गरी दर्ता तथा नवीकरण गर्न लगाउने ।

(न) नगरपालिकाभित्र प्रचलित कानून वा नगरपालिकाको अनुमति विना राखिएका ब्यानर, विज्ञापन,

होर्डिङ बोर्ड, पोष्टर, भित्ते लेखन लगायतका सामाग्री हटाउनका लागि नगरपालिकामा सिफारिस

गर्ने र निर्देशनको कार्यान्वयन गर्ने ।

(प) नगरपालिकाको आयोजनामा हुने सभा, सम्मेलन, तालिम लगायतका कार्यमा आवश्यक शान्ति

सुरक्षाको ब्यवस्था मिलाउने ।

(फ) नगरपालिकाभित्र रहेको उद्योग ब्यापार ब्यवसायहरुले प्रचलित कानून बमोजिम मुल्य सूची राखे

नगराखेको सम्बन्धमा अनुगमन गरी प्रतिवेदन पेश गर्ने ।

(ब) नगरपालिकाभित्र संचालनमा रहेको होटल, रेष्टुरेन्ट, गेष्टहाउस, लगायतका ब्यवसायहरु

प्रचलित कानूनले विपरित संचालनमा रहेको पाइएमा कारवाहीको लागि नगरपालिकामा

सिफारिस गर्ने र निर्देशन कार्यान्वयन गर्ने ।

(भ) नगर क्षेत्र भित्र रहेका सार्वजानिक तथा निजी स्थानमा जुवा तास खेल्न र मदिराजन्य पदार्थको

विक्री वितरणमा नगरपालिकाको निर्णयानुसार नियन्त्रण र ब्यवस्थापन गर्ने कार्यमा सहयोग गर्ने

(म) सार्वजनिक स्थल लगायतका क्षेत्रहरुमा अरुलाई बाधा पुग्ने गरी लाउड- स्पिकर, रेडियो

लगायतका ध्वनी प्रदुषण गर्ने कार्यलाई नियन्त्रण गर्ने ।

(य) नगर क्षेत्रमा आइपर्ने दैवि प्रकोप, महामारी लगायतका कार्यमा तत्काल खटिई आवश्यक

रोकथानमको व्यवस्था गर्ने ।

(र) प्रमुख प्रशासकीय अधिकृतबाट भएको निर्देशन बमोजिमका सम्पूर्ण कार्यहरु गर्ने/ गराउने ।

(ल) नगर क्षेत्रभित्र तोकिए बाहेकको स्थानमा फोहोर फाल्ने व्यक्ति संस्था वा घर परिवारलाई

फोहोर फाल्न रोक लगाउने र अटेर गरेमा नगरपालिकाले तोके बमोजिम दण्ड जरीवाना

गर्ने/ गराउने

(व) तोकिएको स्थानमा बाहेकमा सुर्तीजन्य र मदिराजन्य पदार्थ सेवन गरेमा त्यस्ता व्यक्तिलाई

तोकिएको दण्ड जरीवाना गर्ने/गराउने ।

(श) नगर क्षेत्रभित्र आवागमनमा बाधा पुग्ने गरी पार्किङ गरिएका सवारी सधान हटाइ जरीवाना

असुल उपर गर्ने ।

परिच्छेद-4

तह विभाजन र पदपूर्ति

6. नगर प्रहरीको दरवन्दी सिर्जना: (१) नगरपालिकामा रहने नगर प्रहरीको दरबन्दीको सिर्जना र

खारेजी नगर सभाको निर्णय बमोजिम हुनेछ ।

(२)नगर प्रहरीको दरवन्दीको सिर्जना गर्दा त्यस्तो दरबन्दीमा रहने पदले गर्ने कार्य विवरण तयार

गरी कार्यपालिकाबाट स्वीकृत गर्नुपर्ने छ ।

7. नगर प्रहरीमा रहने पदहरु : (१) नगर प्रहरीमा देहाय बमोजिमका पदहरु रहनेछन् ।

(क) नगर प्रहरी सहायक निरीक्षक

(ख) नगर प्रहरी हबल्दार

(ग) नगर प्रहरी जवान

8. नगर प्रहरी नियुक्ति : (१) नगर प्रहरीको नियुक्ति लोकसेवा आयोगको सिफारिसमा हुनेछ ।

(२) उपदफा १ मा जुनसुकै कुरा लेखिएको भएता पनि संघीय र प्रदेश कानूनको व्यवस्था

भए पछि सोही बमोजिम हुने गरी नगरपालिकाले करार व्यवस्थाबाट पदपुर्ति गर्न सक्नेछ ।

नगर प्रहरीको नियुक्ति गर्न देहाय बमोजिम पदपुर्ति समिति रहनेछ ।

(क) प्रमुख प्रशासकीय अधिकृत -संयोजक

(ख) नगरभित्र रहेका सुरक्षा निकायको प्रमुख -सदस्य

(ग) नगरपालिका प्रशासन शाखा प्रमुख -सदस्य सचिव

(२) उपदफा(१) बमोजिम नगर प्रहरी नियुक्ती गर्दा खुल्ला प्रतियोगिताद्वारा गरिनेछ ।

तर यस ऐनमा जुनसुकै कुरा लेखिएको भएतापनि नगरपालिकाले करार सेवामा लिई कामकाज लगाउन बाधा पर्ने छैन ।

(३) उपदफा (२) बमोजिम खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्दा देहाय बमोजिम प्रतिशतको निधारण गरी गर्नु पर्नेछ ।

(क) खुला प्रतियोगिता - ५५%

समावेशी ४५ % मध्ये,

(ख) महिला तर्फ - ३३%

(ग) आदिवासी÷जनजाति तर्फ -२७%

(घ) मधेसी तर्फ -२५%

(ङ) दलित तर्फ -१५%

स्पष्टीकरण : यस ऐनको प्रयोजनको लागि महिला आदिवासी, जनजाती, मधेसी र दलित भन्नाले आर्थिक र सामाजिक रुपमा पछाडि परेका महिला, आदिवासी जनजाति, मधेसी र दलितलाई सम्झनु पछ।

(४) उपदफा(३) बमोजिम पदपूर्ती गर्ने प्रयोजनका लागि आर्थिक तथा सामाजिक रुपमा पछाडी परेका महिला, आदिवासी-जनजाति, मधेसी र दलित समुदायको विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।

(५) उपदफा (३) बमोजिम छुट्याइएका पदको लागि दरखास्त पेश गर्दा देहायवमोजिमका प्रमाण संलग्न गर्नुपर्नेछ ।

(क) आदिवासी ÷जनजातिको सूचीमा स्पष्ट खुलेको जाति बाहेक अन्य जातिको हकमा नेपाल आदिवासी-जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट प्रमाणित गरेको प्रमाणपत्र वा जिल्ला प्रशासन कार्यालयबाट प्रामाणित प्रमाणपत्र ।

(ख) मधेसीका लागि राष्ट्रिय मधेसी आयोगबाट मधेसी भनी प्रमाणित गरेको प्रमाणपत्र वा जिल्ला प्रशासन कार्यालयबाट प्रामाणित प्रमाणपत्र ।

(ग) दलितका लागि राष्ट्रि दलित आयोगबाट दलित भनी प्रमाणित गरेको प्रमाणपत्र वा जिल्ला प्रशासन कार्यालयबाट प्रामाणित प्रमाणपत्र ।

(घ) उपदफा (३) बमोजिम छुट्याइएको कुनै पदमा दरखास्त नपरेमा वा आवश्यक संख्यामा उम्मेदवार उत्तिर्ण नभएमा त्यस्तो पदमा खुल्ला प्रतियोगितामा सहभागी भई उत्तिर्ण भएका उम्मेदवारहरु मध्येबाट प्राथमिकता सूचिको आधारमा पदपूर्ति गरिनेछ ।

९. उम्मेदवारको योग्यता : (१)नगर प्रहरी पदको लागि न्यूनतम योग्यता देहाय बमोजिम हुनेछ ।

(क) १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको ।

तर खुल्ला प्रतियोगितामा भाग लिने बहालवाला नगर प्रहरीको हकमा ४० वर्ष ननाघेको ।

(ख) सहायक निरीक्षक पदको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण र अन्य पदको हकमा एस.इ.ई. वा सो सरह उत्तिर्ण गरेको ।

(ग) नैतिकपतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएको ।

(घ) कुनै राजनीतिक दलको सदस्य नरहेको ।

(ङ) प्रचलित कानून बमोजिम शारीरिक रुपमा तन्दुरुस्त रहेको

(च) स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र प्राप्त गरेको ।

(छ) नेपाली नागारिकता प्रमाणपत्र ।

(२) उपदफा (१) खण्ड क मा जुनसुकै कुरा लेखिएको भएतापनि करार सेवाबाट लिईने नगर प्रहरीको उमेरको हद ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

(३) करारबाट पदपुर्ती गर्दा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, बेलायती, भारतीय,

सिंगापुर प्रहरी, सेनाबाट अवकाश पाएका र ४० वर्ष ननाघेका अनुभवी व्यक्तिलाई प्राथामिकता

दिन सक्नेछ ।

१०. पदपूर्ति समितिको काम, कर्तब्य र अधिकारः (१) पदपूर्ति समितिको काम, कर्तब्य र अधिकार देहाय बमोजिम हुनेछ ।

(क) ऐनको दफा ८ उपदफा (३) ले तोके बमोजिमको प्रतिशत निर्धारण गर्ने ।

(ख) पाठयक्रम तर्जुमा, हेरफेर तथा परिमार्जन गर्ने ।

(ग) पदपूर्ति कार्यतालिका बनाउने ।

(घ) विज्ञापन प्रकाशन गर्ने ।

(ङ) शारिरीक तन्दुरुस्ती परीक्षा सञ्चालन गरी लिखित परीक्षाको लागि संख्या निर्धारण गरी नतिजा प्रकाशन गर्ने ।

११. सूचनाको म्यादः (१) पदपूर्तिका लागि विज्ञापन गर्दा दरखास्त पेश गर्न १५ दिनको म्याद दिई राष्ट्रियस्तारको पत्रिकामा सूचना प्रकाशित गर्नुपर्नेछ ।

१२. परीक्षणकालः (१) नयाँ नियुक्त गरिएका नगर प्रहरी कर्मचारीलाई एक वर्षको परीक्षणकालमा राखिनेछ । थप अवधिमा समेत कार्य सन्तोषजनक नभएमा सेवाबाट हटाउन सक्नेछ । महिला नगर प्रहरी कर्मचारीको हकमा ६ महिना मात्र परीक्षणकाल रहनेछ ।

परिच्छेद-५

विदा

१३. विदाः (१) नगर प्रहरी कर्मचारीले अधिकारको रुपमा विदाको दावी गर्न पाउने छैन ।

(२) कामको अनुकुल हेरी विदा दिने अधिकारीले आफ्नो तजबिजबाट विदा दिन अथवा नदिन पनि सक्नेछ साथै आवश्यक परेमा विदामा बसेको नगर प्रहरी कर्मचारीलाई निजको स्वीकृत विदा रद्व गरी बोलाई काममा लगाउन सक्नेछ ।

(३) विदाको किसिमहरुः (१) नगर प्रहरीले देहाय बमोजिमका विदा पाउनेछनः

(क) भैपरी आउने र पर्व विदा - १२ दिन

(ख) किरिया विदा - १५ दिन

(ग) प्रसुती विदा - ९० दिन

(घ) विरामी विदा - १२ दिन

१४. विदा स्वीकृत नगराई घर बस्ने नगर प्रहरी कर्मचारीलाई सेवाबाट हटाउनेः

(१) यस ऐन बमोजिम विदा स्वीकृत नगराई बस्ने नगर प्रहरी कर्मचारी कार्यालयमा हाजिर हुन पाउने छैन ।

(२) उपदफा (१) को उल्लंघन गर्ने नगर प्रहरीलाई सेवाबाट हटाउन सक्नेछ ।

१५.विदा दिने अधिकारीः नगर प्रहरीलाई दिने सम्पूर्ण विदाहरु प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत गर्नेछ ।

परिच्छेद -६

अनुशासन तथा आचरण

१६. नगर प्रहरीको अनुशासन तथा आचरण सम्बन्धी व्यवस्था

नगरकार्यपालिकाद्वारा स्विकृत नियमावली अनुसार हुनेछ ।

१७. सजायः उचित र पर्याप्त कारण भएमा नगर प्रहरी कर्मचारीलाई देहायको सजाय गर्न सकिनेछ ।

(क) नसिहत दिने ।

(ख) तलव बृद्धि रोक्का गर्ने ।

(ग) तल्लो तहमा घटुवा गर्ने ।

(घ) लापरवाही गरी नगरपालिकालाई नोक्सानी भएको सम्पूर्ण वा आंशिक रुपमा तलव भत्ताबाट कट्टी गरी असुल गर्ने ।

(ङ) भविष्यमा स्थानीय तहमा अयोग्य नठहरिने गरी नोकरीबाट बर्खास्त गर्ने ।

(च) भविष्यमा स्थानीय तहमा अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गर्ने ।

१८. नसिहत दिनेः (१) प्रमुख प्रशासकीय अधिकृतले दिएको आदेशको अवज्ञा गर्ने वा तोकिए बमोजिमको आफ्नो काम÷कर्तव्य पूरा नगर्ने नगर प्रहरी कर्मचारीलाई नसिहत दिईनेछ ।

(२) उपदफा (१) बमोजिम १ वर्षमा ३ पटक भन्दा बढी नसिहत पाएका नगर प्रहरी कर्मचारीलाई प्रक्रिया पूरा गरी सेवाबाट हटाईनेछ ।

१९. तलब वा बढुवा रोक्नेः नगर प्रहरी कर्मचारीको काम सन्तोषजनक नभएमा सजाय गर्ने अधिकारीले निजको तलव वा पदोन्नती रोक्का गर्न सक्नेछ ।

२०. तह र तलव घटाउनेः (१) कुनै नगर प्रहरी कर्मचारीले देहाय बमोजिमको कसूर गरेमा निजलाई १ तह घटुवा गरी सोही घटुवा भएको तहको तलब÷भत्ता उपलब्ध गराईनेछ ।

(क) सन्तोषजनक काम नगरेमा ।

(ख) अनुशासनहीन काम गरेमा ।

(ग) आचरण सम्बन्धी ऐन उल्लंघन गरेमा ।

(घ) नियुक्ति भएको पाँच वर्षभित्रै नोकरीबाट अलग हुन झुट्टा विवरण पेश गरेमा ।

(ङ) नगरपालिकाले दिएको आदेश निर्देशन नमानेमा वा कार्यान्वयन नगरेमा ।

(च) मनासिव कारण विना वा विदा स्वीकृत नगराई अनुपस्थित भएमा ।

(छ) तोकिए बमोजिमको जिम्मेवारीमा लापरवाही गरेमा वा पूरा नगरेमा ।

२१. सेवाबाट हटाउने वा बर्खास्त गर्नेः (१) नगर प्रहरी कर्मचारीले देहाय बमोजिमको कसूर गरेमा सेवाबाट हटाउन वा बर्खास्त गर्न सक्नेछ ।

(क) अयोग्यताको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेमा,

(ख) राजनीतिमा भाग लिएमा,

(ग) बराबर अनुशासनहीन काम गरेमा,

(घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट अपराधी प्रमाणित भएमा,

(ङ) कार्यालय समयमा मादक पदार्थ सेवन गरेमा,

(च) प्रचलित कानून बमोजिम भ्रष्टाचारजन्य कसूर गरेमा,

(छ) पदीय जिम्मेवारी अनुसारको आचरण नगरेमा,

(ज) आचरण सम्बन्धी नियमहरु पटक पटक उल्लंघन गरेमा ।

२२. सजाय सम्बन्धी कार्यविधिः (१) नगर प्रहरी कर्मचारीलाई सजाय गर्ने र गराउन आदेश दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुनेछ ।

(२) नगर प्रहरी कर्मचारीलाई सजायको आदेश दिनु अघि कारवाही गर्न लागिएको विषय र सजाय स्पष्ट खुलाई सफाई पेश गर्ने मौका दिनुपर्नेछ । त्यस्तो सफाई पेश गर्ने आदेश दिँदा लगाइएका आरोप स्पष्ट रुपले किटिएको हुनुपर्नेछ । त्यस्तो नगर प्रहरी कर्मचारीले सजाय गर्ने अधिकारी समक्ष तोकिएको म्यादभित्र लिखित रुपमा स्पष्टीकरण पेश गर्नुपर्नेछ ।

तर भागी पत्ता नलागेको वा सम्पर्क स्थापित गर्न असम्भव भएको नगर प्रहरी कर्मचारीको सम्बन्धमा यस ऐन बमोजिमको ऐनको रीत पु¥याउनु पर्ने छैन ।

(३) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतवाट अपराधी प्रमाणित भईसकेको आधारमा कुनै नगर प्रहरी कर्मचारीलाई सजाय दिनु पर्ने भएमा सजाय गर्ने अधिकारीले निजलाई गर्न लागेको सजायको वारेमा सूचना दिनु पर्नेछ ।

(४) सफाई पेश गर्ने मौका दिन मनासिव नपर्ने भएमा सो कुराको टिप्पणी खडा गरी त्यस्तो नगर प्रहरी कर्मचारीलाई सफाई पेश गर्ने मौका दिनु पर्ने छैन ।

(५) सजाय गने अधिकारीले आवश्यक ठानेमा स्वयम वा अन्य कुनै अधिकृतद्वारा जाँचबुझ गराउन सक्नेछ । जाँचबुझ गर्ने अधिकारीले आवश्यकता अनुसार सम्बन्धित नगर प्रहरी कर्मचारी समेतलाई बुझि कारण सहित आफ्नो ठहरको प्रतिवेदन तथा भएको सवुद प्रमाण दाखिला गर्नु पर्नेछ ।

(६) कुनै फौजदारी अभियोगमा गिरफ्तार भई थुनिएको नगर प्रहरी कर्मचारी थुनिएको अवधिभर स्वतः निलम्बित हुनेछ । तर,

(क) निलम्बित कर्मचारी उपर लागेको अभियोग प्रमाणित नभई सफाई पाएमा निजले सो अवधिको आधा तलब पाएको भए सो कट्टा गरी र नपाएको भए पुरै (तलव बुद्धि हुने भएमा सो समेत) पाउनेछ । कसुरदार ठहरिएमा निलम्बन भएको मिति देखिको बाँकी तलव भत्ता पाउने छैन ।

(ख) कुनै कर्मचारी नगरपालिकाको कामको सम्बन्धमा वा नेपाल सरकारवाट भएको कारवाहीको सिलसिलामा निलम्बन भएको नभई अरु नै कारणवाट निलम्बन रहन गएको रहेछ भने त्यसरी निलम्बन रहेको अवधिको तलव भत्ता पाउने छैन ।

२३. सजायको आदेश दिनेः जाँचबुझको काम समाप्त भएपछी सम्बन्धित नगर प्रहरी कर्मचारीलाई स्पष्टीकरण माग गरेकोमा तोकिएको समयाभित्र स्पष्टीकरण नदिएमा वा स्पष्टीकरण सन्तोषजनक नभएमा सजाय गर्ने अधिकारीले सजाय दिन सक्नेछ र सोको जानकारी सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।

परिच्छेद ८

उपचार खर्च सम्बन्धी व्यवस्था

२४. उपचार खर्चः (१) नगरप्रहरी कर्मचारी कामकाजको सिलसिलामा विरामी भएमा औषधि उपचारको लागि देहायवमोजिम भएको खर्चको रकम नगरपालिकाले उपचार खर्च वापत दिनेछः

(क) अस्पतालमा उपचार गराउँदा लागेको विल बमोजिमको रकम र मान्यता प्राप्त अस्पतालको चिकित्सकले सिफारिस गरे वमोजिमको औषधि खर्च ।

(ख) प्लाष्टिक सर्जरीबाहेक सरकारी अस्पतालमा अपरेशन गर्दा लागेको विल वमोजिमको रकम ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि नगरप्रहरी कर्मचारीलाई सेवा अवधिभरमा अधिकृत स्तरको भए ८ महिना र सो भन्दा मुनिको पदको लागि १२ महिना वरावरको तलव रकम एकमुष्ट उपचार खर्चवापत दिईनेछ । यसरी उपलव्ध गराईने रकम सेवाबाट अवकाश हुँदाका वखत उपलव्ध गराईनेछ ।

(३) झुट्टा विवरण पेश गरी यस ऐन वमोजिम उपचार खर्च माग गर्ने वा लिने नगर प्रहरी कर्मचारी उपर विभागीय कारवाही गरिनेछ । त्यसरी उपचार खर्च लिई सकेको भए सो रकम समेत सरकारी वाँकी सरह असुल उपर गरिनेछ ।

परिच्छेद ९

तलव भत्ता

२५. (१) नगर प्रहरी कर्मचारीले नियुक्ति भएको मिति देखि तलव÷भत्ता पाउनेछ ।

(२) उपदफा (१) बमोजिमको तलव/भत्ता नगर सभाले तोके वमोजिम हुनेछ ।

२६. तलव बृद्धिः (१) नगर प्रहरी कर्मचारीलाई एक वर्ष सेवा अवधि पुरा गरेपश्चात एक ग्रेड बृद्धि गरिनेछ ।

(२) उपदफा (१) बमोजिमको गे्रड रकम नगर सभाले तोके वमोजिम हुनेछ । तर यस्तो तलव बृद्धि वढिमा १० वर्ष भन्दा बढि हुने छैन ।

परिच्छेद १०

तालिम

२७ . तालिमको व्यवस्थाः (१) नयाँ नियुक्ति हुने नगर प्रहरी कर्मचारीलाई वढिमा १ महिनाको तालिम दिई कामकाजमा खटाईनेछ ।

(२) उपदफा (१) बमोजिमको तालिमको पाठ्यक्रम र विधि तोकिए वमोजिम हुनेछ ।

परिच्छेद ११

पोषाक सम्बन्धी व्यवस्था

२८ . पोषाक भत्ता (१) नगर प्रहरीको पोषाकको रंग, किसिम, पदचिन्ह र अन्य विवरण नगरकार्यपालिकाले तोके वमोजिम हुनेछ ।

(२) उपदफा (१) बमोजिमको लागि आवश्यक भत्ता नगर सभाले तोके वमोजिम हुनेछ ।

(३) उपदफा (२) बमोजिमको भत्ता वर्षको एक पटक उपलव्ध गराईनेछ ।

परिच्छेद १२

विविध

२९. सेवा करार सम्बन्धमा (१) यस ऐनमा जुनसुकै कुरा लेखेको भएतापनि करार सेवामा नगर प्रहरी नियुक्ति गर्न कुनै वाधा पर्ने छैन ।

(२) उपदफा (१) वमोजिम नियुक्ति गरिने नगर प्रहरीको सेवा सुविधा लगायतका विषय करार सम्झौतामा उल्लेख भए वमोजिम हुनेछ ।

३०. ऐन संशोधनः यस ऐनको आवश्यक संशोधन तथा थपघट खाँदवारी नगरसभाले गर्न सक्नेछ ।

३१. नियम तथा कार्यविधि वनाउन सक्नेः (१) यस ऐन बमोजिम नगर कार्यपालिकाले आवश्यक नियम तथा कार्यविधि वनाई लागु गर्न सक्नेछ ।

आज्ञाले,

कोमलप्रसाद धमला

प्रमुख प्रशासकीय अधिकृत